श्वेता लामिछाने - हलिउडमा नेपाली सुन्दरी
एक नेपाली अनुहार अहिले अमेरिकी सिनेमाको केन्द्र हलिउडमा छाइरहेको छ । सोह्र वर्षको उमेरमा पहिलोचोटि अमेरिकाको फिल्म राजधानी हलिउड घुम्न गएकी श्वेता लामिछानेले अहिले त्यहाँ व्यावसायिक रुपमा अभिनय गर्न थालेकी छिन् । दुइटा चलचित्रमा प्रमुख भूमिकामा र तीनवटा टिभी शोमा अभिनय गरिसकेकी यी २६ वर्षे युवती सम्भवतः हलिउड फिल्म उद्योगमा प्रवेश गर्न सफल पहिलो नेपाली महिला हुन् । लक्ष्य बनाउने अनि त्यसलाई पाउन सक्दो मेहेनत गर्नुपर्छ भन्ने उनी त्यहाँ सफल अभिनेतृका रुपमा स्थापित हुन कम्मर कसेर लागेकी छिन् ।
ललितपुरको पाटन अस्पतालमा २०४१ साल बैशाखमा जन्मिएकी श्वेताको बाल्यकालदेखिकै सपना थियो हलिउड । त्यसलाई साकार पार्न उनले अमेरिकी सेनाको मरिन कोर (नौसेना) को आफ्नो करिअर छोडिदिइन् । अब उनको अर्को सपना छ-चलचित्र जगतमा संसारकै सर्वोत्कृष्ट मानिएको ओस्कार पुरस्कार जित्ने । 'अभिनयका लागि मैले धेरै संघर्ष गर्नु परेन । म खालि आफ्नो सपना पछ्याउँदै छु । यसो गर्दा मलाई आनन्द मिल्छ,' उनी भन्छिन् । हलिउड प्रवेशबाहेक उनको पोल्टामा अर्को रेकर्ड पनि छ, अमेरिकी नौसेनामा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन् उनी ।
कसरी शुरु भयो त उनको हलिउड यात्रा ? गत वर्ष लस एञ्जलसको एल क्यामिनो कलेजबाट रंगमंचमा डिग्री लिएपछि उनले प्रतिष्ठित बेभर्ली हिल्स प्लेहाउसबाट अभिनयको तालिम लिइन् । चर्चित हलिउड स्टारहरु जर्ज क्लुनी, जिम केरी र मिसेल फाइफर पनि बेभर्ली हिल्सबाटै प्रशिक्षित हुन् ।
श्वेताले अभिनय र चलचित्रका लागि नाम कमाएको स्कुल न्युयोर्क फिल्म एकेडेमीले निर्माण गरेको 'डेस्टिनी' नामक चलचित्रमा प्रमुख भूमिका निभाएकी छिन् । डिज्नी च्यानलबाट प्रदर्शन गरिने छोटो चलचित्र 'सुट 'एम् अप' मा पनि उनको लिडिङ रोल छ । ओस्कार विजेता अभिनेतृ हिलेरी स्वाङ्कसँग एमटिभीले निर्माण गरेको 'फ्रिडम राइटर्स' मा काम गरिसकेकी श्वेताले अर्का चर्चित अभिनेता जोन स्टेमससँग 'इआर' नाम गरेको टिभी शोमा अभिनय गरेकी छिन् । त्यसबाहेक उनले अन्य दुई टिभी शो 'गि्रक' र 'ग्ली' मा पनि काम गरेकी छिन् ।
'मेरो अनुहार देखेर मान्छेहरु झुक्किन्छन् । नाम सुनेपछि तिमी के हौ भनेर सोध्छन्,' उनीले गुगलटकमा हेलो शुक्रबार का लागि हालैको अन्तर्वार्तामा भनिन्, 'म नेपाली हुँ भन्छु । सबैजना छक्क पर्छन् ।' इआरको सुटिङका बेला एक दिन गि्रक मूलका अमेरिकी नायक स्टेमसले श्वेता नेपाली हुन् भन्ने थाहा पाएपछि 'तिमी नै मैले भेटेको पहिलो नेपाली हौ' भनेका रहेछन् । यस्ता थुप्रै 'पहिलो अनुभव' छन् उनीसित ।
श्वेताको अमेरिका प्रवास शुरु हुनुअघि उनको परिवारको कथा कोट्याउनु पर्ने हुन्छ । काठमाडौंको भाटभटेनीका सीएम लामिछानेले २४ वर्षअघि अष्ट्रेलियाको जेम्स कुक युनिभर्सिटीमा मोलिक्युलर बायोलोजी पढ्न छात्रवृत्ति पाए । उनका साथमा श्रीमती ललिता र दुई छोरी पि्रयंका र श्वेता पनि उतै गए । काठमाडौं छोड्दा श्वेता दुई वर्षकी थिइन् । त्यसको छ वर्षपछि लामिछाने परिवार अमेरिका बसाइँ सर्यो । श्वेता अमेरिकामा नै हुर्किन् ।
दिदी प्रियंकाका अनुसार अलि सानी छँदा लजालु स्वभावकी भएपनि श्वेता सिँगारपटार गर्न र अरुको नक्कल गर्न भने सिपालु थिइन् । 'खेल्दा पनि उसलाई सकेसम्म केही नौलो गर्नैपर्ने । कहिले बूढी भएको नक्कल गर्थी त कहिले अर्कै मान्छेको जस्तो,' नेसनल जियोग्राफीक सोसाइटीमा सम्पादक रहेकी उनले आफ्नी माहिली बहिनीका बारेमा भनिन् । प्रायःजसो कल्पनामा रम्ने श्वेतामा अलि ठूली भएपछि नै अभिनय गर्ने इच्छा पलायो । 'हाइस्कुल पुगेदेखि नै ऊ लस एन्जलस जाने र अभिनय गर्ने कुरा गर्थी,' पि्रयंका थप्छिन् । तर हरेक दिन हलिउडको कुरा गर्न रुचाउने र त्यसैको सपना देख्ने श्वेता हाइस्कुलपछि भने अभिनयमै करिअर बनाउन सकिने कुरामा निश्चित हुन सकिनन् । कहिले बिजनेस त कहिले साइकोलोजी पढ्ने विचार गर्दै गरेका बेला उनी अमेरिकी नौसेना युनाइटेड स्टेट्स मरिन कोर (युएसएमसी) मा भर्ती भइन् ।
अमेरिकाको साउथ क्यारोलाइनाको पेरिस आइल्यान्डस्थित केन्द्रबाट तीन महिने कडा तालिम सफतलापूर्वक सकेपछि उनका अगाडि जलसेना र स्थलसेनामा प्रवेश गर्न ढोका खुल्यो । त्यसपछि उनी नर्थ क्यारोलाइनाको क्याम्प लाजुने गइन् जहाँ उनले थप एकमहिने कम्ब्याट तालिम लिइन् । त्यसपछि २९ पाल्म्स क्यालिफोर्नियामा तीन महिने जब ट्रेनिङमा उनी उत्कृष्ट ठहरिइन् । त्यसपछि उनले नयाँ मरिनलाई तालिम गराउनुपर्ने भयो । तालिमका बेला श्वेता कम्पनी कमान्डरको निजी चालक थिइन् । दुई वर्षपछि उनले सादर बिदा (अनरेबल डिस्चार्ज) पाइन् । मरिन कोरमा रहँदा पनि उनको हलिउड सपना ज्युँकात्युँ रह्यो । फेरि भर्ती भएर नौसेनाको जागिर खाने अवसर छोडेर उनी कोलोराडो गइन् । इतिहास विषय लिएर पढ्दै गरेकी उनी बीचमै पढाइ छोडेर सन् २००७ को बसन्तमा लस एन्जलस छिरिन् । 'मलाई थाहा थियो, ऊ एक दिन एलए (लस एन्जलस ) जान्छे जहाँ उसको सानैदेखिको सपना हलिउड छ,' श्वेताकी 'नजिककी साथी' दिदी पि्रयंका भन्छिन् ।





